भारतले भन्यो -नेपालको नयाँ नक्सा स्वीकार्य छैन

Spread the love

काठमाडौं ।  भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्न नसकिने बताएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटेर जारी गरेको नक्साबारे भारतको विदेश मन्त्रालयले बुधवार साँझ आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो । बुधवार दिउँसो नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरेका छन् ।

“नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्,“ विज्ञप्तिमा उल्लेख छ, “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।“ नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको आशय व्यक्त गर्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए । यो विषयमा भारतको निरन्तरको अडानबारे नेपाललाई राम्ररी थाहा भएको भन्दै उनले नेपाल सरकारलाई “नक्सासम्बन्धी अनुचित दाबी नगर्न“ र “भारतको स्वायत्तता र भौगोलिक अखण्डतालाई सम्मान“ गर्न आह्वान गरेका छन् ।

“नेपालको नेतृत्वले सीमासम्बन्धी विद्यमान विषय समाधान गर्न कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्छ भन्ने हामी अपेक्षा गर्छौँ,“ श्रीवास्तवले भनेका छन् । मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

गत वर्ष भारतले आफ्नो राजनीतिक नक्सामा भारतीय सीमाभित्र ती क्षेत्र समावेश गरेको भन्दै नेपालमा चर्को विरोध भएको थियो । केही दिनअघि भारतले लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटोको उद्घाटन गरेपछि नेपाल सरकारलाई आफ्नो नक्सा सार्वजनिक गर्न दबाव परेको थियो ।

सन् २०१५ मा भारत र चीनले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि नेपालले त्यसको कूटनीतिक माध्यमबाट विरोध गरेको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवार जाने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर कूटनीतिक विरोधपत्र दिएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो, १७ नयाँ थपिए

२०७७ जेष्ठ ७, बुधबार १६:४८
Spread the loveकाठमाडौं । झापा, धनकुटा र सुनसरीमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ […]