• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चाइनिज भन्दा इण्डियन भाइरस कडाः देशको प्रधानमन्त्रीले, त्यो पनि संसदमा उभिएर नदिनुपर्ने अभिव्यक्ति

ByHT

May 21, 2020
Spread the love

नारायण गाउँले ।

चाइनिज भाइरसभन्दा इण्डियन भाइरस कड़ा रहेछ भन्ने आशयको अभिव्यक्ति देशको प्रधानमन्त्रीले, त्यो पनि संसदमा उभिएर नदिनुपर्ने थियो ।

त्यसले इण्डियन मिडियालाई वास्तविक मुद्दालाई छोएजस्तो मात्रै गरेर कृत्रिम राष्ट्रियताको भावुक मसला पस्किन मद्दत गर्यो । फलतः समाचार सुनेर धारणा बनाउने धेरै भारतीय नागरिकमा नेपाल र नेपालीप्रति दुर्भावना बढ्ने डर देखियो । त्यसका बहुआयामिक असर हुन सक्छन् । डोनाल्ड ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेजस्तो अफेन्सिभ अभिव्यक्ति थियो यो । सीमा मुद्दा राजनैतिक विषय हो र महामारी जनस्वास्थ्यसँग गाँसिएको वैश्विक मुद्दा हो ।

हामीलाई कालापानी, लिपुलेक र सुगौली सन्धिबारे थोरै भए पनि जानकारी छ तर आजको भारतीय जनतासँग यसबारे ज्ञान र सूचना छैन । लिपुलेकमा सीमा विवाद छ भन्ने पनि थाहा नपाएका धेरैलाई अझै पनि कथित ‘भारतीय भूमि’ किन नेपाली नक्सामा समेटियो भन्ने ज्ञान छैन । यसमा नागरिकदेखि पत्रकार र राजनीतिज्ञ पनि पर्छन् ।

हाम्रो नक्साको वैधताबारे आम भारतीय जनतासँगै विश्वलाई तथ्यसँग परिचित गराउनु हामी सबैको दायित्व हो । बिबिसी हिन्दीको कभरेजले यसमा धेरै मद्दत गरेको छ । टाइम्स अफ इण्डियाको प्रस्तुति पनि धेरै हदसम्म सन्तुलित छ । सम्भवतः मिनेन्द्र रिजालले यस विषयमा दरोसँग प्रकाश पार्ने थिए, तर त्यही भारतीय भाइरसको प्रसङ्ग ल्याएर कुटिल पत्रकारले उनलाई मौका दिएन । हाम्रो लागि त त्यो अन्तर्वार्ता गर्वको विषय बन्यो, तर अन्तर्वार्ता लिनेको कुटिलताले गर्दा त्यहाँ आम श्रोताले बुझ्ने गरी तथ्यहरू प्रस्तुत हुन पाएनन् । मनीषा कोइरालाको ट्विट पनि हाम्रो लागि गर्वको विषय त रह्यो, नक्साको ऐतिहासिक तथ्य र औचित्य पुष्टि गर्ने खालको भएको भए अझ राम्रो हुन्थ्यो ।

अब यो काम प्रधानमन्त्रीमार्फ़त हुनुपर्छ । संसदमा उभिएर श्रव्यदृश्य देखाउन मिल्ने मल्टीमीडिया उपकरण प्रयोग गरेर यति यति तथ्य र कारणले गर्दा नक्साको पुनर्लेखन भएको हो भनेर एउटा वक्तव्य दिनु जरूरी देखियो । त्यो वक्तव्य छोटो, तथ्यपरक र अत्यन्त माझिएको नरम भाषामा आयो भने बेश हुन्थ्यो । अमिरिकी राष्ट्रपतिले निम्न स्तरको भाषा प्रयोग गर्दा पनि चिनियाँ राष्ट्रपतिको जबाफ कति सन्तुलित हुन्छ भन्ने सबैले देखेका छन् । पुटिन हुन् या भारतीय प्रधानमन्त्री मोदी, भित्र कल्मष भए पनि सार्वजनिक अभिव्यक्ति निकै सोचविचार गरेर दिँदै आएका छन् । यस्तो वक्तव्यलाई धेरै देशी विदेशी मिडियाले कभर गर्नेछन् र नेपालको दाबी मजबुत हुनेछ ।

नक्सा छाप्नु जरूरी काम थियो । यो सर्वथा प्रसंशनीय काम भएको छ । कम्तिमा यसले यो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ र आम चासोको विषय बनेको छ । अब बुद्धिमानी र कूटनीतिक चातुर्य प्रयोग गरेर भूमि फिर्ता ल्याउने दिशातिर अघि बढ्नुपर्छ । सीमाबाहेकका अन्य थुप्रै मुद्दाहरू पनि छन् । तिनमा पनि संवादहीनता र गतिरोध नआओस् भन्नेमा सतर्कता जरूरी छ । खासमा आम भारतीय नागरिकमा त्यहाँका मिडियाले नेपालविरोधी राष्ट्रवाद सघन बनाउँदै गए भने भोलि त्यो भूमि फिर्ता ल्याउन झन असम्भव हुन सक्छ । राजनैतिक र कूटनीतिक स्तरको निर्णयलाई त्यहाँका जनताले विद्रोह गर्न सक्ने अवस्था आउँछ ।

प्रधानमन्त्री आफैमा उखानविज्ञ हुनुहुन्छ । सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् भन्ने एउटा उखान छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *