पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।
ए ३२० मोडेलको सो विमानमा ९० जना यात्रु रहेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले जानकारी दिएका छन् । सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडियो पाकिस्तानी टिभीले प्रसारण गरेका छन् । दुर्घटनास्थल मानव बस्तीनजिकै भएको बताइएको छ ।
पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन । पाकिस्तानमा कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो ।