काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निःशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरुसँग विशेष अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्रीले वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय भएको बताएका थिए । बैठकमा कांग्रेस नेताहरुले आफ्नो पार्टीको केन्द्रीय समिति बैठकसम्म पर्खन आग्रह गरेका थिए । त्यस्तै जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुका माग पनि यसै संविधान संशोधनसँगै अघि बढाइदिन आग्रह गरेका थिए ।