अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको छ । तीन महिनाभन्दा केही बढी समयमा कोभिड १९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै छ । अमेरिकामा २१ जनवरीमा पहिलोपटक वासिङ्टन राज्यमा देखिएको यस भाइरसको विश्वभरि रहेका सङ्क्रमितमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा पुष्टि भएका छन् ।
विश्वभर ५६ लाखभन्दा बढी सङ्क्रमण पुष्टि हुँदा अहिलेसम्म अमेरिकामा झण्डै १७ लाख पाइएका छन् । अमेरिकामा नयाँ सङ्क्रमणका घटना देखिने दर कम भइरहँदा र राज्यहरूले लकडाउनका उपायहरू खुकुलो बनाइरहँदा पछिल्लो सङ्ख्या सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको पहिलो सङ्क्रमण पाइएको दुई दिनपछि राष्ट्रपति डोनल्ड ट्रम्पले अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा रहेको भन्दै नागरिकहरूलाई सबै ठिक हुने भनेर आश्वस्त पारेका थिए ।
चार महिनाभित्रै हेर्ने हो भने भाइरस सबै ५० राज्यमा फैलिएन मात्र सङ्क्रमण र मृत्युको सङ्ख्यामा विश्वमै पहिलो नम्बरमा आएको थियो । ट्रम्पले सुरुमा महामारीबाट ’५० देखि ६० हजार’ बीचमा मानिसहरूको मृत्यु हुनसक्ने बताएका थिए । मे महिनामा पुग्दा भने उनले त्यस्तो सङ्ख्या १ लाखभन्दा कम नै हुने आशा आफूले गरेको बताएका थिए । मृत्यु सङ्ख्या एक लाख नाघिसक्दा अझै अमेरिकामा दैनिक रूपमा औसत एक हजार मानिसहरूले ज्यान गुमाइरहेका छन् । अहिलेको सङ्ख्या भनेको अमेरिकी जनसङ्ख्याको अनुपातमा प्रति एक लाखमा ३० जना अमेरिकीको मृत्यु हुनु सरह हो ।
बेल्जियममा कुल झण्डै नौ हजार मानिसहरूले सङ्क्रमणबाट ज्यान गुमाए पनि त्यहाँको मृत्युदर भने सबैभन्दा उच्च प्रतिलाख ८२ छ । त्यस्तो सङ्ख्या प्रतिलाख ब्रिटेनमा ५६, इटलीमा ५५ र स्पेनमा ५८ छ । अमेरिकामा उच्च प्रभावित न्यूयोर्क राज्यमा मात्र मृत्युदर केलाउने हो भने त्यो प्रतिलाख १५० छ । पछिल्लो विवरण अनुसार अमेरिकामा एक करोड ५० लाख भन्दा धेरैको भाइरस परिक्षण गरिएको छ जुन अमेरिकी जनसङ्ख्याको झण्डै ४.५ प्रतिशत हो । एक समय अमेरिकामा ९० प्रतिशतभन्दा बढी मानिसहरू अनिवार्य लकडाउनमा थिए । तर अहिले धेरै राज्यहरूले घरमै बस्नुपर्ने नियम खुकुलो पारिरहेका छन् ।
राज्यहरूले लकडाउन खोल्नुअघिका लागि पूरा गर्नुपर्ने मापदण्ड ह्वाइटहाउसले बनाएको जनाएको छ । जसमा लगातार दुई साता वृद्धिदर घट्नुपर्ने उल्लेख भएपनि केही सीमित राज्यले मात्र त्यसको पालना गरेको विज्ञहरूले बताउँदै आएका छन् । ह्वाइटहाउसका एकजना सल्लाहकार एन्थोनी फाउचीले भाइरस नियन्त्रणमा नआउँदै लकडाउन खुकुलो पारिँदा ’थोरै बढ्ने देखिएको सङ्ख्या नै महामारी बन्ने’ भन्दै एउटा चेतावनी दिएका थिए ।
तर उनको भनाइ ट्रम्पसँगै बाझिएको छ जो राष्ट्रपतिमा पुनर्निर्वाचित हुने आशा बोकेको चुनावी अभियान अगाडी नै अमेरिकी अर्थतन्त्र खुलाउन व्यग्र देखिन्छन् । अमेरिकामा यस महामारीसँगै उत्पन्न सङ्कटबाट अहिलेसम्म तीन करोड ९० लाख भन्दा बढीले रोजगारी गुमाएका विवरण सार्वजनिक भएका छन् ।