काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुरु गरिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले समस्यामा परेकालाई प्राथमिकताका आधारमा फर्काउन सुरु गरिएको बताएका हुन् ।
विदेशमा समस्यामा परेर फर्काइएका श्रमिकहरुको पुनःएकीकरणका लागि उनीहरुलाई आन्तरिक रोजगारी तथा स्वरोजगारीका कार्यक्रममा परिचालन गरिने मन्त्री यादवले बताए । उनले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख युवाहरुलाई १ सय दिनको रोजगारी ग्यारेन्टी गरिने जानकारी पनि दिए ।
जुन कार्यक्रममा विपन्न बेरोजगार व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका वा श्रम स्वीकृति लिएर पनि कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई प्राथमिकता दिइने मन्त्री यादवले बताए । त्यस्तै आगामी आर्थिक वर्षमा रोजगार सेवा केन्द्रलाई श्रमिक सूचना बैंक स्थापना गर्ने र युवाहरुलाई सीपअनुसारको रोजगारी उपलब्ध गराउने मन्त्री यादवले बताए ।
त्यस्तै उहाले म्यानपावर व्यवसायीहरूसँग घुस भन्दै आफूमाथि एक सांसदले व्यक्तिगत कुण्ठाले ग्रसित भएर तथ्यहीन आरोप लगाएको बताए । यसअघि उक्त मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद डा अमरेशकुमार सिंहले श्रममन्त्री रामेश्वर राय यादवले म्यानपावर व्यवसायीहरूसँग घुस मागेको आरोप लगाएका थिए ।