भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

Spread the love

भारतमा विगत २४ घण्टामा १५ हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ ।

अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ । भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ । विगत २४ घण्टामा भारतमा १५ हजार ४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो । सो अवधिमा ३०६ जनाको मृत्यु भएको सरकारले बताएको छ ।

यससँगै मृतकको कुल सङ्ख्या १३ हजार २५४ पुगेको छ । अहिले भारतमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४ लाख १० हजार ४६१ छ भने तीमध्ये दुई लाखभन्दा बढी व्यक्ति निको भएका छन् । भारतको महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन् । त्यसपछि तामिलनाडु र दिल्ली धेरै प्रभावित भएका छन् ।

नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, उत्तर प्रदेश, बिहार तथा उत्तराखण्ड राज्यमा सङ्क्रमित व्यक्ति भेटिने क्रम जारी छ । विश्वभरि झन्डै ८८ लाख जनामा सङ्क्रमण पुष्टि हुँदा ४ लाख ६४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अंगीकृत नागरिकतामा सात वर्षे प्रावधान नमान्ने कांग्रेसको निर्णय

२०७७ असार ७, आईतवार ०८:४८
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले यो प्रस्ताव संविधान विपरित भएको निष्कर्ष निकालेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन […]