कोरोना संक्रमणबाट ब्राजिलमा ५० हजारभन्दा बढीको मृत्यु

Spread the love

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणको घटनामा अहिलेसम्कै सर्वाधिक दैनिक वृद्धि भएको जनाएको छ । डब्ल्यूएचओका अनुसार विगत २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको देशको रूपमा कायम छ जहाँ २० लाख जति सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ जहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोभिड १९ बाट ज्यान गुमाएका छन् । सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि मृतकको सङ्ख्या विश्वमै दोस्रो बढी देखिएको हो । तर विज्ञहरू पर्याप्त परीक्षण नगरिएका कारण र सङ्क्रमण उच्च बिन्दुमा पुग्न बाँकी रहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने बताउँछन् ।

यसअघि आइतवार स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएको जनाएको थियो । त्यो सङ्ख्या थपिएसँगै देशमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५०,६१७ पुगेको छ। विगत २४ घण्टामा १७ हजार नयाँ सङ्क्रमित थपिएका छन् । मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू फेरि खुला गर्न थालिएका छन् । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएका प्रतिबन्धात्मक नियमहरूका कारण अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दाबी रहिआएको छ ।

यसैबीच, राष्ट्रपति बोल्सोनारूका हजारौँ समर्थक तथा विरोधीले देशका विभिन्न शहरमा समानान्तर प्रदर्शनहरूको आयोजना गरेका छन् । सबैभन्दा ठूला प्रदर्शनहरू साओ पावलो, रियो द जेनैरो र राजधानी ब्राजिलियामा भएका छन् । ब्राजिलियास्थित संसद् र सर्वोच्च अदालत भवनबाहिर जम्मा भएका प्रतिद्वन्द्वी प्रदर्शनकारीहरूलाई प्रहरीले एकअर्कासँग मिसिन दिएनन् ।

संसद् र सर्वोच्च अदालतले राष्ट्रपति बोल्सोनारूको अधिकार कटौती गर्न चाहेको उनका समर्थकहरूको आरोप छ । बिहीवार राष्ट्रपतिका पूर्वसहयोगी र तिनको परिवारका सदस्यलाई गिरफ्तार गरिएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीन र अमेरिकाबीचको शीतयुद्ध विश्वका लागि कोरोना भन्दा पनि ठूलो चिन्ताको विषय

२०७७ असार ८, सोमबार ०२:५१
Spread the loveकोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री जेफ्री स्याक्शले चीन र अमेरिकाबीच गहिरिँदै गएको शीतयुद्ध विश्वका लागि कोरोनाभाइरसभन्दा पनि ठूलो चिन्ताको विषय भएको बताएका छन् । बीबीसीको एशिया बिजनेस रिपोर्टका लागि अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । उनले कोरोनाभाइरस महामारीपश्चात संसार कुनै नेतृत्वविनाको ठूलो अस्तव्यस्तताको समयतर्फ बढ्ने समेत बताए ।दुई ठूला […]