लेखनाथ न्यौपाने ।
१. ‘गण्डक सम्झौता हुने छ तर कुन किसिम र आधारमा भन्ने विषयको सम्पूर्ण जानकारी सदन समुन्ने आउने छ । कुनै कुरा लुकाइने छैन’ भन्ने पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, जसले सदनलाई छलेर, नदीको माथिल्लो तटिय अधिकारबाट समेत नेपाललाई वञ्चित गराई, १५ मेघावाट विजुली र १ लाख विघा जमिनलाई पानी लिने गरी २०१६ संसीर १९ गते गण्डक सम्झौता गरे, जुन राष्ट्रहित विरुद्धको कदम थियो ।
२. प्रधानमन्त्रीको हैषियतमा गिरिजाप्रसाद कोइरालाले २०४८ मंसीर १९–२५ गतेसम्म गरेको भारत भ्रमणको बेला उनले टनकपुर सन्धि गरे, जुन शारदा बाँधको बिकल्पमा भारतले टनकपुर बाँध बनाइसकेको थियो । त्यसबेला भारतले नेपालसँग स्वीकृति लिने त कहाँ हो कहाँ, जानकारी समेत दिएको थिएन । त्यस्तो विषयमा समेत गिरिजाप्रसाद नेतृत्वको सरकार र नेपाली कांग्रेसले ‘सन्धि होइन, सम्झौता हो’ भनेर मुलुकलाई ढाँटेको थियो तर तत्कालीन प्रतिपक्ष दल एमालेले विरोध गर्यो साथै २०४९ मंसीर ३० गते सर्वोच्च अदालतले ‘टनकपुर सम्झौता नभएर सन्धि नै हो’ भनेर फैसला गरेपछि त्यतिबेला टनकपुर टरेको थियो ।
३. टनकपुरमा बल्ट्याङ खाएपछि २०५३ माघ १५ गते भारतले सत्तापक्ष (कांग्रेस), प्रतिपक्ष (एमाले) र पूर्व पञ्चहरुलाई समेत प्रभावमा पारेर महाकाली सन्धि (सन् १९२० को शारदा बाँध परियोजना, १९९१ को टनकपुर बाँध परियोजना र पञ्चेश्वर बहुउद्देश्य परियोजा) मा पुर्याएर नेपालहित विरुद्ध नेपालका प्रमुख पार्टीहरुलाई उभ्याउन सफल भयो । जुन सन्धिले महाकाली नदीमाथिको हाम्रो स्वामित्वलाई सिमा नदीमा समेत नराखेर अधिकांश ठाउँमा सिमा नदी भन्यो । यसकारण महाकाली नदीमाथिको हाम्रो अधिकार बेचियो साथै यसको पनि कारणले आज महाकालीको मुहान लिम्पियाधुरा भन्ने तथ्य समेत विवादमा पर्यो ।
४. आजका प्रधानमन्त्री केपी ओलीले जो महाकाली सन्धिका एक अभियान्ता हुन्, उनले ‘सन्धि भएको भोलिपल्टदेखि राष्ट्रले वार्षिक १ खर्ब २० अर्ब प्राप्त गर्छ’ भन्ने भाषण गरेका थिए र यस सन्धि विरुद्ध लाग्नेहरु गाँजा धतुरो खाएका मान्छे थिए भनेर त अस्ति २०७७ जेठ ३१ गते सदनमै बोले । आज २४ वर्षपछि हिसाब गर्दा झण्डै २९ खर्व रुपियाँ नेपालले पाइसकेको हुनुपर्छ । नेपालको त्यो आय कहाँ खर्च भएको होला ?
विद्युत प्रसारण लाइन निर्माणमा महाकाली सन्धिबाट आएको पैसा लगाएर MCC अस्वीकार गर्ने हो कि प्रम ज्यू ? जसले विगतका प्रधानमन्त्री भन्दा फरक रुपमा तपाईलाई पाएको इतिहास मुलुकले लेख्ने थियो !