माथिल्लो तामाकोशी आयोजनाको अर्को खुड्किलो यसरी भयो पार

Spread the love

विमल गुरुङ ।

माथिल्लो तामाकोशीको आयोजनाकै सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण अर्को करिब १,००० फीट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्ट (Upper Penstock Shaft) को अन्तिम पाइप राख्ने कार्य आइतबार सम्पन्न भई आयोजनाकै एक अर्को खुड्किलो (Milestone) पार भएको ऐतिहासिक पलमा थप खुसी लागेको छ । करिब १,२०० फीट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्ट (Lower Penstock Shaft) को अन्तिम पाइप जडान यसअघि नै गत जेठ महिनामा सम्पन्न भइसकेको छ ।

यी स्याफ्टहरूको निर्माण यस्ता थिए कि २७ टनसम्मका ५ मिटर लम्बाइका पाइपहरू ३७० मिटरसम्म माथिबाट एक एक गर्दै झार्नु आफैंमा अत्यन्त जोखिम त थिदैंथ्यो, त्यसमाथि कुनै बेला वेल्डिङ गर्दा धुँवाको मुस्लोहरू हटाउन कठिनाइ हुनु, त्यसले गर्दा कामदारहरूलाई काम गर्नु समस्या आउनु, पानी तर्काउने कार्यहरूमा समस्या आउनु अनि ढुँगाहरू माथिबाट झर्ने डर भइरहनु आदि निकै चुनौतीपूर्ण र खतरायुक्त थिए । खन्ने कार्यमा पनि ठुलै जोखिमहरू आएका थिए । जेहोस् यस माथिल्लो स्याफ्टको निर्माण सम्पन्न भएबाट हामीमा थप हौसला प्राप्त भएको छ । दुवै स्याफ्टहरूमा सानातिना बाहेक कुनै पनि प्रकारको दुर्घटना हुन पाएन, त्यो पनि खुसीको कुरा नै मान्नुपर्छ ।

यस पेनस्टक पाइपको कार्य सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको (Texmaco) तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनिया कम्पनी सिनोहाइड्रो (Sinohydro) दुवैलाई धन्यवाद र बधाई ! यसमा संलग्न परामर्शदाता कम्पनीको इञ्जिनियर र प्राविधिकहरूलाई र संलग्न सबैमा पनि धेरै धेरै धन्यवाद र बधाई ! तल्लो पेनस्टक स्याफ्ट सम्पन्न गर्ने एन्द्रिज हाइड्रो (Andritz Hydro) लाई पनि पुन: बधाई!

अब यी स्याफ्टहरू जस्तो अत्यन्त जोखिमपूर्ण कार्यहरू नभए पनि केही महत्वपूर्ण कार्यहरू जस्तो तेर्सो सुरुङहरूमा पेनस्टक पाइपहरू जडान, ग्राउटिङ र लाइनिङका कार्यहरू, अन्य फिनिसिङका कार्यहरू तथा त्यसपछि प्रेसर टेस्टिङका कार्यहरू बाँकी छन्, जसको लागि अन्तर्राष्ट्रिय रुपमा नै भइरहेको लकडाउनले गर्दा केही असर पर्ने अवस्था अझै रहेको छ । सहज ढँगले ती कार्यहरू अघि बढेमा उपर्युक्त बाँकी कार्यहरू आगामी ३ महिनाभित्र सम्पन्न गर्ने र आगामी असोज या कात्तिक महिनाभित्र बत्ती बाल्न सुरु गर्ने लक्ष्य लिइएको छ ।

गुरुङ, नेपाल विद्युत प्राधिकरणका उप-प्रबन्धक हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि उत्पादन बढाउने राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुरुप अघि बढ्न प्रधानमन्त्रीको आग्रह

२०७७ असार १४, आईतवार १७:२६
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताएका छन् । १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी […]