विश्वमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड नाघेको छ । आइतबार विहानसम्ममा विश्वभरी एक करोड ७२ हजार ५०० मानिस कोरोना संक्रमण भएको छ । संक्रमित मध्ये ५ लाखको मृत्यु भएको छ । यसैगरी संक्रमितको आधा भन्दा बढी ५४ लाख मानिस भने कोरोनालाई जित्न सफल भएका छन् ।
तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४१ लाख मानिसहरु कोरोनाभाइरसको उपचार गराइरहेका छन् । उनीहरुमध्ये ९९ प्रतिशत अर्थात् ४० लाख ६२ हजारको अवस्था सामान्य छ भने ५७ हजार ७०० जनाको अवस्था गम्भीर छ । संक्रमण शुरु भएको ६ महिना बितिसक्दा अझैपनि दैनिक डेढ लाख बढी संक्रमित थपिइरहेका छन् भने ४ हजार हाराहारीमा दैनिक मृत्यु भइरहेको छ ।
कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित र मृत्यु भएका छन् । त्यहाँ हालसम्म २५ लाख ९५ हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख २८ हजार बढीको मृत्यु भइसकेको छ । मानवीय क्षति व्यहोर्ने मुलुकको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ जहाँ ५७ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
यसैगरी बेलायतमा ४३ हजार ५००, इटलीमा ३४ हजार ७००, फ्रान्समा २९ हजार ७००, स्पेनमा २८ हजार ३००, मेक्सिकोमा २५ हजार ७००, भारतमा १६ हजार १०० र इरानमा १० हजार ३०० बढीको मृत्यु भएको छ ।
हालसम्म कुनै औषधि पत्ता लागिनसकेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिन बनाउन विश्वभर १२० भन्दा बढी संस्था लागिरहेका छन् । यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिन बनाएर जनजीवन सामान्य बनाउनका लागि अनुसन्धानकर्ता वैज्ञानकहरु तल्लिन छन् ।