उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको आशंका गरिएको छ । ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपतकालीन उद्धार गर्ने निकायले बताएको छ ।
म्यान्मार जेडको प्रमुख स्रोत हो । तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् । उक्त सरकारी निकायले ५० वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ ।
खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन् । गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा एक सय जनाभन्दा बढीको मृत्यु भएको थियो । म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ ।