बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत फेला

Spread the love

बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत फेला परेका छन् । त्यति ठूलो सङ्ख्यामा हात्तीहरू के कारणले मरे भन्ने थाहा हुन सकेको छैन । संरक्षणकर्मी डा. नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन् ।

सरकारले हात्तीको मृत्युको कारण पत्ता नलागेको बताएको छ । शवबाट सङ्कलित नमुना परीक्षणका लागि पठाइएको छ र परिणाम आउन अझै केही साता लाग्नेछ । अफ्रिकामा भएका हात्तीको कुल सङ्ख्याको एकतिहाइ बोत्स्वानामा पाइन्छ । बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत व्यक्तिहरूले विमानबाट गरेको निरीक्षणपछि मे महिनामा हात्तीको मृत्युबारे सरकारलाई जानकारी दिएको बेलायतस्थित नेशनल पार्क रेस्क्यू नामक परोपकारी संस्थासँग आबद्ध डा. मक्कानले बताए ।

उनका अनुसार अनावृष्टिसँग सम्बन्ध नभएको कुनै एउटै घटनामा यति ठूलो सङ्ख्यामा हात्तीको मृत्यु हुनु एकदमै अस्वाभाविक हो । विज्ञान, प्रविधि र अनुसन्धानसम्बन्धी सामग्री सङ्ग्रह गर्ने एक वेबसाइटका अनुसार मृत हात्तीको शरीरबाट दाह्रा ननिकालिएको भन्दै मे महिनामा सरकारले हात्तीको मृत्युमा अवैध सिकारीको संलग्नता नभएको जनाएको थियो ।

मक्कानका अनुसार हात्तीबाहेक अरू जीव मरेका छैनन् । गत वर्ष बोत्स्वानामा एन्थ्र्याक्सका कारण १०० वटा हात्ती मरेका थिए । तर डा. मक्कानले यो घटनामा ब्याक्टेरियाले गराउने एन्थ्र्याक्सका कारण हात्तीको मृत्यु भएको सम्भावना अस्वीकार गरे । तर विज्ञहरूले विष वा रोगका कारण हात्तीको मृत्यु भएको सम्भावना खण्डन गर्ने सकेका छैनन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कानपुरमा अपराधी समाउन गएका आठ प्रहरीको हत्या

२०७७ असार १९, शुक्रबार ०३:३१
Spread the loveभारतको कानपुरमा एक कुख्यात अपराधीलाई समाउन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा एक आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरुगाउँमा अपराधी समाउन गएको प्रहरी टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा एसपी देवेन्द्र मिश्रासहित […]