बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वर्षीया छोरी अस्मिता र ११ वर्षीय छोरा प्रयाग जेठारको शव फेला परेको हो ।
पहिरोले गाउँका १८ घर बगाएको छ । गएराति अबिरल बर्षा संगै गाउँ माथिबाट पहिरो झरेर घर बगाएको हो ।्सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अवस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अबस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले जानकारी दिए । राती एक बजे तिर माटो संगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरुको भागा भाग भएको थियो ।
पहिरोमा परेर चार परिबारका सात जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता हुनेमा रामदेवी जेठारा, उनकी १५ वर्षीया छोरी शान्ति जेठारा , ७ वर्षीया छोरी अस्मिता जेठारा र ११ वर्षीया छोरा प्रयाग जेठारा रहेका छन् भने नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तु कुमारी जेठारा , प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा रहेका थिए । वेपत्ता मध्ये अस्मिता र प्रयागको शव फेला परेको छ ।
फोटोः अमर जेठाराको फेसबुकबाट