काठमाडौं । यातायात व्यवसायीहरुले रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौलालगायतको टोलीले गृहसचिव महेश्वर न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासचिव सिटौलाले भने, ‘यो लगडाउनको समयमा रातो नम्वर प्लेटका सवारी साधनले देशभरि नै यात्रुसँग रकम असुल गरि मनपरि ढंगले कानुन विपरित सवारी गुडिरहेको व्यापक गुनासो आएपछि गृहसचिव महेश्वर न्यौपाने ज्यूलाई उहाँकै कार्यकक्षमा गम्भीर ध्यानाकर्षण गरियो ।’
पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।