काठमाडौँ । सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका काम गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले यसअघि सरकारको निर्णय यथास्थितिमा राख्ने भन्ने आदेशलाई निरन्तरता दिन नपर्ने भन्ने अर्को आदेश गरेसँगै भट्टलाई काम गर्ने बाटो खुलेको हो । पछिल्लो आदेशसँगै उनले सोमबारदेखि काम गर्न पाउने भएका छन् ।
न्यायाधीशहरु ईश्वरराज आचार्य र ठाकुरप्रसाद पौडेलको इजलासले सिईओमा नियुक्त भट्टले नियुक्तिपत्र लिई पदबहाल गरिसकेको भन्ने आधार देखाएर अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।
अदालतले उनको योग्यतामाथिको विवाद भने मुद्दाको अन्तिम किनारा लाग्दा टुंगिने भनि आदेश गरेको छ । रिट निवेदनमा उनको योग्यतालाई मुख्य आधार बनाइएको थियो । अधिवक्ता जयबहादुर भुजेलले सीईओमा भट्टको योग्यता नपुग्ने दाबी गरेका थिए ।