अछाम । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसल बगेका छन् ।
बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यसैगरी बाजुराको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।
त्यस्तै राति घट्टमा पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् ।
फोटोः लोकेन्द्र कडायतको फेसबुकबाट