काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ काम गरेकोमा प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गरी सभापति देउवाले स्वास्थ्यकर्मीलाई काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पुयर्याउन सरकारलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु । आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु ।’