वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न विवेकशीलको माग

Spread the love

काठमाडौं । विवेकशील नेपाली दलले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले मंगलबार विज्ञप्ति जारी गरी चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई ललकार्दै वामदेव गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको छ ।’

विवेकशीलको विज्ञप्ति
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई संविधानको भाग ८, धारा ८६ (ख) बमोजिम राष्ट्रिय सभामा मनोनयन गरिने नेकपा सचिवालयको निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। नेकपाको यो निर्णय निम्न लिखित कारणहरूले अनुपयुक्त छ भन्ने हाम्रो ठहर रहेको छ ।

१) राष्ट्रिय सभालाई प्रतिनिधिसभा वा अन्य तहका प्रत्यक्ष निर्वाचनमा हारेका व्यक्तिहरू व्यवस्थापन गर्ने थलो किन बनाइँदै छ ? राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के हो ? यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ ? यस प्रकरणले सत्तासीन पार्टीका नेताहरू लाभको पदबिना एक छिन पनि बस्नै नसक्ने हो त? भन्ने प्रश्न पनि खडा भएको छ। यसअघिका यस्तै प्रकृतिका मनोनयनहरू गम्भीर रूपले विवादित र आलोचित भैसकेको दृष्टान्त बिर्सेर पुनः गैर संवैधानिक र अलोकतान्त्रिक कार्यमा लागिरहने यो कम्युनिस्ट सरकारबाट मतदाता र आम नागरिकहरू आजित भैसकेको अवस्था छ ।

२) प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई ललकार्दै वामदेव गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको छ।

३) मन्त्री र उप-प्रधानमन्त्रीको रूपमा वामदेव गौतमको नेतृत्व यस अघि पनि पटक-पटक परीक्षित भैसकेको हो । उनको नेतृत्वले देशलाई के सकारात्मक योगदान दियो? बहुदल काल देखि मौलाएको र हालसम्म निरन्तरता पाएको सङ्गठित सुन तस्करी, सांसद खरिद-बिक्री देखि गणतान्त्रिक नेपालमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रकरणसम्म वामदेवको भूमिका सबै नेपाली नागरिकका माझ जगजाहेर नै छ ।

४) राष्ट्रिय सभामा राष्ट्रपतिबाट एक महिलासमेत तीन जना मनोनीत हुने व्यवस्था किन गरियो ? पार्टी वा पार्टी भित्रको कुनै गुटको संकटमोचनका लागि ? कि दलगत राजनीति भन्दा बाहिर रहेका प्रबुद्ध नागरिकहरू वा कुनै विषय-विज्ञलाई स्थान दिनका लागि ? अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो ? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका ? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ ।

कोभिड-१९, कोरोना भाइरस महामारी, यसले निम्त्याएको आर्थिक सङ्कट तथा देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएको विषयलाई एकातिर पन्छाएर नेकपा नेतृत्वले गएको ६ महिना कुर्सीको तानातानमा बिताएको स्थिति प्रति सबै नेपाली नागरिकहरू अवगत नै छन् । नेकपाको आन्तरिक किचलो र सत्ता सङ्घर्षको पटाक्षेप वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट हुनुले नेपाली नागरिकहरूको भविष्य कस्तो नेतृत्वको हातमा छ भन्ने छर्लङ्ग भएको छ ।

अतः वामदेव गौतमलाई राष्ट्रिय सभाका निम्ति सिफारिस नगर्न हामी केपी ओली नेतृत्वको सरकारलाई आग्रह गर्दछौँ । साथै, राष्ट्रिय सभामा मनोनीत हुने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढङ्गले विचार गर्न सम्माननीय राष्ट्रपति महोदयाको पनि विशेष ध्यानाकर्षण गराउँछौँ ।
नेपाल आमाको जय होस् ।
रमेश पौड्याल
प्रदेश सभा सदस्य, बागमती प्रदेश
विवेकशील नेपाली दल
मिति: २०७७/०५/२३

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

२०७७ भाद्र २३, मंगलवार ०८:२६
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्रीले निराशा, दिक्दारी, […]

समाचार छुट्याे की?