Spread the love
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय गोल पूरा गरेका छन् । योसँगै उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २ शून्यले पराजित गरेको हो ।
रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरेका थिए । अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।
अलीले सन् १९९३-२००६ बीच १०९ गोल गरेका थिए । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।