काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि सर्तसहित यातायात र ब्यापार, व्यवसायलाई खुकुलो पारिने भएको छ । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको हो । यातायातमा भने जोर, विजोर प्रणाली लागू गरिएको छ ।
काठमाडौंका उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित क्षेत्रका पदाधिकारीसँगको परामर्शपछि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णयमा पुगेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार निषेधाज्ञालाई निकै खुकुलो गरी ब्यापार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।