कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरायल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ । आगामी शुक्रवारदेखि शुरू हुने दोस्रो चरणको लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ । प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् ।
तर देशमा दैनिक चार हजारसम्म नयाँ सङ्क्रमित थपिने गरेका छन् । एक मन्त्रीले महत्वपूर्ण यहुदी चाडपर्वहरूसँग लकडाउन जुध्ने भएकोले सरकारको निर्णयप्रति विरोध जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
कट्टर यहुदी पार्टीको नेतृत्व गर्ने आवास मामिला मन्त्री याकुब लिसम्यानले लकडाउनसम्बन्धी नियमका कारण मानिसहरूले यहुदी पात्रोमा पर्ने सबैभन्दा पवित्र दिन योम किपूरसहितका चाडपर्वहरू मनाउनबाट वञ्चित हुने बताए ।
उनले वर्तमान गठबन्धन सरकारबाट अलग हुने पनि चेतावनी दिएका छन् । करिब ९० लाख जनसङ्ख्या रहेको इजरायलमा पछिल्ला सातामा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् ।
पहिलो लकडाउनभन्दा कडा हुने भनिएको दोस्रो लकडाउनमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन् । विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन ।