काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू केही दिनमै निको भई अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफू छिट्टै निको हुने बताएका हुन् ।
उनले भनेका छन्, ’म कोभिड १९ बाट प्रभावित भएको छु । अहिले ओमनर्सिङ होममा आइसोलेसनमा छु, तपाईंहरुले चिन्ता गर्नुपर्दैन । म दुई तीन दिन अझै यही बसेर डिस्चार्ज हुन्छु।’
महामन्त्री कोइरालालाई भदौ २३ गते कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।
ज्वरो कम भएपनि चिकित्सकहरुले उनीमाथि निमोनिया भएको आशंका गरेका छन् । कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ ।