काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेको छ । शुक्रबार मध्यान्ह सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।
यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो ।
अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किलोमिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किलोमिटरमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ । रेल नेपाल आइपुग्दा स्वागतका लागि मानिसहरुको भीड लागेको थियो ।
afad