• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

ByHT

Oct 3, 2020
Spread the love

भक्तपुर । कोरोना संक्रमणबाट शनिबार थप चार जनाको मृत्यु भएको छ । भक्तपुर, झापा, सुनसरी र चितवनमा गरी थप चार जनाको मृत्यु भएको हो ।
भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।

दमककी एक महिलाको मृत्यु

झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको शनिबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । यसअघि दमक–१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

भरतपुरमा एक पुरुषको मृत्यु

चितवनमा कोरोनाको सङ्क्रमणबाट शनिबार एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा (शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा शनिबार बिहान १०ः४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए । यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

कोरोना सङ्क्रमित २८ वर्षीया युवतीको मृत्यु
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिएका छन् । उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *