• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङः मुख्यमन्त्री पोखरेल

ByHT

Oct 6, 2020
Spread the love

बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा ल्याएको बताएका छन् ।

मंगलबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले संसदीय विशेष समितिको सुझावका आधारमा दाङ प्रस्ताव गरेको बताएका हुन् । समितिले पहिलो विकल्प दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु सिफारिश गरेको र सोही आधारमा प्रदेश सिफारिश गरिएको उनले बताए ।

उनले प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने जिकिर गरे । उनले नयाँ कामका लागि असहजता हुने बताउँदै त्यसलाई स्वाभाविक रुपमा लिन पनि आग्रह गरे ।

प्रदेश सभामा सोमबार भएको तोडफोडका विषयमा आफूले स्थापना गरेको राजनीतिक संस्कार उल्लंघन गरेको रुपमा लिएको टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले संयम अपनाउन आग्रह गरे । त्यसअघि बैठकमा प्रदेश नम्बर ५ का विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताए ।

तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उनले बताए । उनले निषेधाज्ञा, आन्दोलन र मानिसहरू पक्राउ परेका बेला छिटो प्रक्रियाबाट राजधानी र नाम तोक्न सरकारले खोजेकोले आफूहरूले विरोध गरेको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *