काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित खाद्य पदार्थ तथा वस्तुको बजार अनुगमन गरेको छ । महानगरको अनुगमन समितिले बिहीबार काठमाडौंको मैतिदेवी क्षेत्रमा खाद्य तथा किराना पसल, मासु तथा माछा पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा त्यस क्षेत्रका पसलहरुमा अव्यवस्थित रुपमा मासु पसल संचालन गरिएको पाइएको अनुगमनमा खटिएका महानगरको पशु विकास अधिकृत डम्बर बमले जानकारी दिए ।
उनले खाद्यन्नहरुको अनुगमनको क्रममा व्यापारीहरुले दर्ता विना संचालन भएको, खाद्य सामग्री नापतौल गर्ने यन्त्र तथा ढक, तराजुहरु सरकारले तोकेको गुणस्तर र नियम अनुसार नभएको पाइएको बताए । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका, अखाद्य वस्तु तथा लेवलिङ नभएका खाद्यवस्तु र मासुजन्य खाद्यवस्तुहरु जफत गरी नष्ट गरिने पनि बमले बताए ।
चाडपर्व शुरु भएसँगै बजारमा महंगी, कालोबजारी बढ्न सक्ने भन्दै महानगरले काठमाडौंको विभिन्न क्षेत्रमा अनुगमन शुरु गरेको महानगरले जनाएको छ ।