औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणस्थगित गरेको छ । एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको छ ।
‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि रहेको छ ।’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो ।
सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो । अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो । बिरामीको गोपनीयतालाई ख्याल गर्दै कम्पनीले ती व्यक्ति कस्तो प्रकृतिको बिरामी परेका हुन् भन्नेबारेमा केही कुरा खुलाएको छैन ।
उसले ती व्यक्ति बिरामीको हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ । यसअघि सेप्टेम्बरमा बेलायती औषधिनिर्माता एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोपको परीक्षण पनि सहभागी बिरामी भएपछि रोकिएको थियो । सो परीक्षण बेलायतमा पुनः सुरु भए पनि अमेरिकामा भने सुरु हुन सकेको छैन ।