शारदाप्रसाद त्रिताल ।
प्रस्तावित बुढीगण्डकी जलविद्युत परियोजनामा भ्रष्टाचार भएकोछ भन्ने सम्बन्धमा पूर्व प्रधामन्त्री डा बाबुराम भट्टराईको भनाइले अहिले हलचल ल्याएको छ ।
उहाँले व्यक्तिको नाम र भ्रष्टाचार भएको रकम नै तोकेर विषयलाई अगाडि ल्याउनु भएकोछ जुन कुरा राजनीतिक स्वार्थ अनुरुपको चालबाजी पनि हुन सक्छ ।
भ्रष्टाचार गर्ने व्यक्ति र रकमको विषय सम्बन्धित निकायले गहन अनुसन्धान नगरेसम्म किटानी गरेर भन्न सक्ने विषय पक्कै पनि होइन ।तर मुद्धा चैं गम्भीर हो ।
धेरै पहिलेदेखि बुढीगण्डकी परियोजनाका सम्बन्धमा भएका गतिविधि, निर्णय र चलखेलका विषयले सो आयोजना जनता र देशको हितको लागि नभई कमिशनखोर, माफिया, भ्रष्ट नेता र पदाधिकारीको हितमा भइरहेको छ भन्ने पुष्टि गरेको छ ।
यो ठूलो आयोजना भएकोले कमिशनको खेल पनि उच्चस्तरको भएको हुन सक्ने सम्भावनालाई नकार्न सकिंदैन ।
यसमा कानुनत अख्तियारले डा भट्टराईको भनाइलाई नै आधार मानेर अनुसन्धान गर्न सक्छ तर अख्तियारको केही वर्षदेखिको काम गराइको मूल्याङ्कन गर्दा राजनीतिक नेता मुछिने सम्भावना भएका विषयमा अख्तियारले स्वत अनुसन्धान गरिहाल्छ भन्ने बारे कमै आशा गर्न सकिन्छ । त्यसमा पनि अहिले अख्तियारमा दुई पदाधिकारी मात्र हुनुहुन्छ ।
यो विषय पनि वायुसेवा निगमको न्यारो बडी र वाइड बडी काण्ड, आयल निगमको जग्गा खरीद काण्ड, नेपाल ट्रष्टको सम्पत्ति हिनामिना काण्ड, निर्वाचन आयोगले २०७४ का निर्वाचनको समयमा गरेको भ्रष्टाचार काण्ड, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजलाई सम्बन्धन दिंदा गरेको भ्रष्टाचार काण्ड (पूर्व न्यायाधीष गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगको प्रतिवेदन अनुसार), मेलम्ची आयोजनामा ठेकदार कम्पनीले बीचैमा छोड्नु पर्ने गरी गरिएको कमिशन काण्ड जस्तै हुन सक्ने सम्भावना पनि छ ।
तसर्थ यस विषयलाई भ्रष्टाचार विरुद्ध सक्रिय अभियन्ता तथा समूह वा संस्थाहरुले निरन्तर निगरानीमा राख्नु आवश्यक देखिन्छ