मेलम्चीको पानी काठमाडौंमा ल्याउने चार दशक लामो सपना कार्यान्वयन नजिक

Spread the love

सूर्य थापा ।
१. राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै अन्यथा परिस्थिति सिर्जना गरिएन भने नयाँ बर्ष २०७८ को आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताले आआफ्नो घर र धारामा उपलब्ध हुनेछ ।

२. अहिले २७ किलोमिटर लामो सुरूङबाट छिट्टै १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेको छ । र, आउँदो मंसिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ ।

३. यारी र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले हेड वर्क्सको तदनुरूप निर्माण तीब्र रूपमा चलिरहेको छ । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले राजधानीमा पानीको संकट र प्यास मेटाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।

४. मेलम्चीको पानी ल्याई काठमाडौंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको आम निर्वाचनमा भाषण गर्नुभएको धेरैलाई सम्झना नेै छ । तर उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयोजना अघि बढाउन कुनै सुरसार सम्म गर्नु भएन । तर आज तीन दशकपछि, अझ उहाँको अवशान भएको पनि करिब एक दशकपछि यो आयोजना पूरा हुन गइरहेको छ । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको सफल नेतृत्वका कारण नै यो संभव भएको छ ।

५. हिजो प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगोपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना प्रमुख तिरेश खत्रीसहितको टोलीले यस आयोजनाको कार्य प्रगतिको स्थितिको स्थलगत र समग्र निरीक्षण गरेको छ ।

६. केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयोजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूका तर्फबाट त्यस अवसरमा आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत प्रस्तुत गरिएको छ, जसमा स्थानीयले करिब ३६ करोड र जम्मा १ अर्ब ३२ करोड रूपियाँ बराबरको भुक्तानी पाउन बाँकी रहेको उल्लेख गरिएको छ । यस समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको स्पष्ट भएको छ ।
थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट प्रदेश एकमा थप पाँच जनाको मृत्यु

२०७७ कार्तिक २७, बिहीबार ०८:४२
Spread the loveविराटनगर । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा […]