काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि सभामुख सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् ।
संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान रहेको छ । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनैपर्ने अवस्था छ ।
यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो ।