काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेटवर्क लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।
मञ्चका महासचिव प्रज्वल ओली र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।
सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ । सम्झौता कार्यक्रममा डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफू जोडिन पाउँदा खुसी लागेको बताए ।
खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुँदैछ । अवार्डअन्तर्गत गत हप्ता मात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।