चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । विश्वमा पछिल्लो २४ घण्टामा १४ हजार ७ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ ।
एकैदिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै बढी हो । यसअघि बुधबार १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो । संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।
योसंगै मृत्यु हुनेको संख्या १८ लाख १२ हजार ५० पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ३० लाख ६० हजार ५३६ पुगेको छ ।
हाल विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४४१ रहेको छ भने १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वमा संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाख ६२ हजार भन्दा बढी छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९९१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड १९ लाख ९८ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ५९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७६ लाख १९ हजार नाघेको छ भने १ लाख ९३ हजार ८४० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६७ लाख ७ हजार भन्दा बढी निको भएका छन् ।