अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन् । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु परेको थियो । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि नेशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ ।
क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लागेर मृत्यु भएको छ । करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन् । उनले ट्वीटमा लेखकी थिइन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनः दोहोर्याउँछौँ।’
क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो । एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो । कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।