भक्तपुर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् । प्रतिनिधिसभा विघटनकाविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए ।
संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै थापाले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए ।
सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने बताए । थापाले अदालतले संसद पुनःस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे ।