काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज खोप अनुदान दिन लागेको जानकारी दिएका हुन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार पहिलो खोपको पहिलो खेप बिहीवार नै काठमाडौं आइपुग्नेछ । नेपालमा खोप आएपछि पहिलो चरणमा कोभिड नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएकाहरुलाई लगाइनेछ ।
खोप वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताए । उनले भारतले छिमेकी देशहरुलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् ।यस्तै, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतमा बनेको खोप पाउने नेपाल पहिलो छिमेकी राष्ट्र भएको बताए ।