काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले मुलुकलाई अन्धकारतर्फ धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा नेकपाको ओली समूह निकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहले सिनेमामा जस्तै तमासा देखाएको आरोप लगाएका हुन् ।
उनले प्रचण्ड नेपाल समूह उत्तेजना र आवेगमा रहेको भन्दै आफूहरु सही गन्तव्यमा हिंडेको दाबी गरे । उनले आफूहरु पेरिसडाँडामा जस्तो कालो बेलुन फहराउने पक्षमा नरहेको बताए । उनले भने, ‘हामी रातो झन्डा फहराउनेवाला हौं । पेरिसडाँडमा जस्तो कालो झन्डा फहराउने होइनौं । रातो बेलुन उडाउने वाला हौं, कालो बेलुनवाला होइनौं । हामी सडकमा हिँड्दा रातो झन्डा बोक्ने वाला हौं, कालो झन्डा बोक्ने वाला होइनौं ।’
प्रधानमन्त्रीले तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको बताए । उनले फेरि पनि सांसद किनबेच गर्ने खेल सुरु भएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘संसद्लाई फेरि सांसद किनबेचको थलो बनाएर समीकरण बनाउने खेल सुरु गर्न खोजे । मैले प्रयास गरेको थिएँ, वाम पार्टी जोडेर एउटा मजबुद शक्ति बनाउने । देशलाई आधुनिक सम्भव बनाउने । तर, पार्टी त तपाईंहरुले देख्नुभयो । एक दिन पनि राम्रो भन्न सकेनन् । अहिले मुलुक एउटा खास लडाईंको अवस्थामा छ ।’
प्रधानमन्त्रीले प्रचण्डले युद्धका सहयोद्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको आरोप लगाए । प्रधानमन्त्रीले पत्रकारले प्रयोग गर्ने भाषाका विषयमा असन्तुष्टि जनाए । अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न गरे ।
उनले भने, ‘हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौँ ? खानुभयो भन्दा खाइबक्स्यो भन्नुपथ्र्यो, हिड्नुभो भन्दा हिँडिबक्स्यो भन्नुपथ्र्यो । आज आएर खानुभयो हिँड्नुभयो भन्न पनि नसिकने ?’