काठमाडौँ । नेपाल बार एशोसिएसनका चार जना पूर्वअध्यक्षले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको केपी शर्मा ओलीको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।
बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरी राजतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिलले पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो ? भन्ने अभिव्यक्ति, वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानुन व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ?, के गर्छन् ति वकिलले भनि सार्वजनिक समारोहमा गरिएका प्रधानमन्त्रीका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने भएकाले यो विज्ञप्ति प्रकाशित गरिएको छ । प्रधानमन्त्रको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।”
विज्ञप्तिमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतका जिवित इतिहास भएको उल्लेख छ ।