काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौंबाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ ।
प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्रप्रसाद पाण्डे र कानुन व्यवसायी मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको थियो ।
प्रचण्ड-नेपाल समूहले आयोगलाई अर्को कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि आज तोकिएको समयमा सम्भव हुन नसकेको बेहोरा अवगत गराउँछु।’