काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधामन्त्री केपी ओलीलाई ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यता बाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको बताए ।
उनले भने, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौं । पार्टीको साधारण सदस्यबाट पनि बर्खास्त गरिसकेका छौं । उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासँग कुनै सम्बन्ध छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरु उतै जान्छन् ।’
उनले आफूहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको भएको स्पष्ट पारे । उनले अहिलेको संघर्षलाई ओली र आफूहरुबीचको निजी लडाईँको रुपमा नलिन पनि आग्रह गरे । लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफूहरुले जित्ने बताए ।
उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे ।