ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड बराबरीमा रोकिएको छ । उपाधि होडमा रहेको युनाईटेड वेष्टब्रोमसंग एक एक गोलको बराबरीमा रोकिएको हो ।
वेष्टब्रोमको मैदानमा दोस्रो मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउदै म्यान युनाईटेडले अंक खोसेको हो । खेलको दोस्रो मिनेटमै एम्बाए डिग्नेको गोलमा वेष्टब्रोमले अग्रता बनाएको थियो ।
४४ औ मिनेटमा बुर्नो फर्नाण्डेजले गोल गर्दै युनाईटेडलाई बराबरीमा पुर्याएका हुन् । घरेलु टोलीलाई अधिकांश समय दबावमा राखेपनि आधा दर्जन प्रयास असफल बन्दा युनाईटेड अंक बाँड्न बाध्य भयो । २४ खेलबाट ४६ अंक जोडेको युनाईटेडले समान अंक भएको लेष्टरलाई गोल अन्तरले पछि पार्दै दोस्रो स्थानमा पुगेको हो ।
गएराती नै आर्सनलले लिड्स युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गर्यो । यो जितले आर्सनललाई तालिकाको १० औ स्थानमा पुर्याएको छ । आर्सन्ललाई जिताउन पिरे एमेरिक आबुमियाङले ह्याट्रिक गरे । अर्को गोल हेक्टर बेल्लेरिनको नाममा रह्यो । १३ औ मिनेटमा पहिलो गोल गरेका आबुमियाङले ४१ र ४७ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।
२४ खेलबाट आर्सनलको ३४ अंक भएको छ ।अन्य खेलहरुमा वुल्भरहेम्प्टनले साउथ हेम्प्टनलाई २–१ तथा फुल्ह्यामले एभर्टनलाई २–० ले पराजित गरे ।