फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यान्मारका विभिन्न सहरहरूमा प्रदर्शन गरिरहेका छन् । याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ । म्यान्डलेमा सुरक्षा अधिकारीहरूले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् जसमा कम्तीमा एक जना घाइते भएका बताइएको छ ।
प्रदर्शनकारीहरूले नेतृ आङ सान सूचीसहित अन्य जन निर्वाचित नेताहरूको रिहाइको माग गरिरहेका छन् । सूची माथि मङ्गलवार नयाँ आपराधिक अभियोग लगाइएको थियो ।
सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्याएको छ तर कैयौँ प्रदर्शनकारीहरूले भने संशय व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको म्यान्मारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरू अघि आएका छन् ।
बुधवार म्यान्मारमा ठूला अप्रिय घटना नघटेको विवरण प्राप्त भए पनि सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ ।
प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए । रेलवेका कर्मचारीहरूले भने आफूहरूलाई बन्दुक ताकेर अघि बढ्न बाध्य पारिएको बताएका छन् ।
म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन् । राजधानी नेपिद्अमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका थिए ।
सामाजिक सञ्जालमा जानाजान सडक अवरुद्ध पार्न गरिएको आह्वानले बुधवार बिहानैबाट बल पाउन थालेको थियो । सरकारी कर्मचारीलाई कार्यालय जान अनि सुरक्षा निकायहरूको हिँडडुल प्रभावित पार्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।