मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण गरिएको छ । सुरूङमा सोमबार पानी राखेर परीक्षण सुरू गरिएको हो । सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणि थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका हुन् ।
प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको आयोजनाले जानकारी दिएको छ । सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकले बताएका छन् । परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ ।
आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण गरिसकेको छ । सुरूङमा पानी राखिएकोले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरु साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ । गत असारमा पनि सुरूङमा पानी राखेर परीक्षण गरिएको थियो । त्यसबेला दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।