काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच बुधबार बिहान पहिलो चरणको औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए ।
वार्तापछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’
वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ । मंगलबार सरकारले वार्ताका लागि गृहमन्त्री थापाको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन गरेको थियो ।
