काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता हुनु सकारात्मक भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले दुवै पक्षले तत्कालीन राजनीतिक लाभांश निम्ति नभई दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका निम्ति यसलाई प्रयोग गरे गजब हुने बताएका हुन् ।
उनले लेखेका छन्, ‘विप्लव समूहसँग वार्ताको प्रयत्न ठीक छ । दुवै पक्षले तत्कालीन राजनीतिक लाभांश निम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तन निम्ति यसलाई प्रयोग गरे गजब हुनेछ । सँगसँगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्व गर्ने शक्तिहरूसँग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बुधबारदेखि वार्ता सुरु भएको छ । बुधबार दुई चारणमा र आज पनि वार्ता भइरहेको छ । विप्लव नेतृत्वको नेकपाले प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता शर्त राखेको छ ।