काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिडविरुद्धको लगाउने भएका हुन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप लगाउने जानकारी दिएका हुन् ।
त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उनले बताए । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।
कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तबरले जनतासम्म लैजानेगरी सरकारले तयारी गरिरहेको जानकारी दिए । कोभिड १९ विरुद्धको खोप अहिलेसम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताए । आइतबार कोभिड १९ विरुद्धको कोभ्याक्स खोपको पहिलो खेप नेपाल आउने भएको छ ।
सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ । सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ ।