काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको बताएका छन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षसँगको बैठकपछि वरिष्ठ नेता नेपालले वार्ता सकारात्मक दिशामा अघि नबढेको जानकारी दिएका हुन् ।
वरिष्ठ नेता नेपालले पुरानै अवस्थामा फर्किऔं भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठक समारात्मक दिशामा अघि नबढेको बताए ।
उनले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौं । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।’