कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कोलकातास्थित दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको छ ।
विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए । बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बताए ।
उनले भने, ‘बिहान आउने सोमबारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो । तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो।’
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ । आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ ।
महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि उनका काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ । दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन् ।
दीपकलाई सोही कारागारमा उनका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए । उनका भाइ प्रकाशचन्द्रले फागुन १० गते उनलाई कारागार पुगेर भेट्दा ’सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो’ अवस्थामा आफ्नो दाजु देखेको बताए । उनको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताएका थिए । दीपकको मुद्दाको पेशी ४० वर्षसम्म अदालतमा चढेको थिएन।