डा. रवीन्द्र पाण्डे ।
हामीले सुरुदेखि भन्दै आएका थियौं, महामारीको समयमा खोपको सिद्धान्त पालना गर्नुपर्छ भनेर | १ जनालाई खोप लगाउँदा उक्त व्यक्तिको दोस्रो मात्रा स्टकमा राख्नुपर्छ | नेपालमा हालसम्म २३ लाख ४८ हजार खोप आयो | यो खोप टुटफुटलाई घटाएर १० लाख जनाको लागि मात्र पर्याप्त हुन्थ्यो | झन्डै १७ लाख व्यक्तिलाई पहिलो मात्रा लगाइएको छ | हाम्रो ७ लाख मात्रा ऋणात्मक भएको छ | हामीले यति लाखलाई खोप लगायौं भन्नुको कुनै अर्थ छैन, दुवै डोज नलगाएसम्म |
खोप आउँछ भनेको भरमा खोप आउंदैन | हाम्रो एयरपोर्टमा नआएसम्म खोप आउने ग्यारेन्टी गर्नुहुँदैन | एउटा देशले किनेको सामान एयरपोर्टबाट अर्को देशले हाइज्याक गरेको हामीलाई थाहा नभएको हैन | स्वास्थ्य मन्त्रालयको टिम यो कुरामा सचेत हुनुपर्थ्यो |
अब सरकारले भारतबाट किनेको १० लाख मात्रा ल्याउन उच्चस्तरबाट पहल गर्नुपर्छ अनि त्यो खोपलाई ७ लाख ऋणात्मकलाई सन्तुलनमा ल्याउनुपर्छ | किनकि २ डोज नलगाएमा खोपको कुनै अर्थ हुँदैन |
त्यस्तै चीनले दिने भनेको ८ लाख खोप तुरुन्तै ल्याएर दीर्घबिरामीलाई दिनुपर्छ | भारतले यो चरणमा ४५ बर्षमाथिका दीर्घरोगीलाई खोप दिइरहेको छ |
स्वस्थ तथा एकपटक संक्रमण भएका व्यक्तिलाई खोप लगाउन हतार गर्नुपर्दैन | अर्को चरणमा उहाँहरुलाई खोप दिन सकिन्छ | एक एक मात्रा खोपको सदुपयोग र स्टोर संगसंगै लैजानुपर्छ |