काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले आत्मसमर्पण नगरेको र नगर्ने बताएका छन् । शनिबार राति प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत उपाध्यक्ष गौतमले ओलीसँग आत्मसमर्पण नगर्ने बताएका हुन् ।
शनिबार दिउँसो पार्टीको संसदीय दलको बैठकमा गएका गौतमले ओलीसमक्ष आत्मसमर्पण गरेको भन्दै खबर सार्वजनिक भएपछि गौतमको यस्तो प्रतिक्रिया आएको हो । गौतमले पार्टीभित्र रहेका नेताहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारबाही गर्न नमिल्ने बताएका छन् ।
उनले आफू पार्टी एकता र राष्ट्रिय अभियानमा रहेको र उद्देश्य पूरा नहुँदासम्म अभियान जारी राख्नेसमेत बताएका छन् । गौतम शनिबार दिउँसो पार्टीको संसदीय दलको बैठकमा सहभागी भएका थिए भने केन्द्रीय कमिटी बैठक भने बहिष्कार गरेका थिए ।
